COVID-19 सँग लड्न किङ काउन्टीका दक्षिण एसियाली एकबद्ध

हरेकजसो आइतबार शिख आस्थाका सदस्यहरु गुरुद्वारासिं सभामा जम्मा हुन्छन्। उनीहरु प्रायः भारतको पन्जाब मूलका आप्रवासी हुन्। उनीहरु यहाँ प्रार्थना गर्छन्– सामाजिकीकरण साथै समानता, न्याय र सबैको भलो गर्ने शिखी सिद्धान्त प्रवर्धन गर्छन्। 

भर्खरैको एउटा सप्ताहान्तमा यही गुरुद्वारासिं सभामा शिखसँगै हिन्दु, मुस्लिम पनि भेला भए। भारतीय, पाकिस्तानी र नेपालीहरू सामेल भेलामा प्रविधि उद्यमी, विश्वविद्यालयका प्राध्यापकदेखि उबर चालकसम्म थिए।

किङ काउन्टीबासी दक्षिण एसियाली विविधताको मोज्याक बनेको समूह रेन्टनमा आयोजित सामुदायिक खोप शिविरमा सरिक भयो। आफ्नो समुदायमा COVID-19 को जोखिममा रहेकाहरु सुरक्षित रहुन् भन्ने उनीहरुको लक्ष्य थियो।     

गुरुद्वारासिं सभामा एप्रिल २५ मा सञ्चालित सामुदायिक खोप शिविरको प्रमुख आयोजक गुरमत खाल्सा स्कुलका प्रिन्सिपल इशर सिं।

दक्षिण एसियाली सामुदायिक संगठनहरुको साथ र सहयोगमा किङ काउन्टीस्थित शिखहरुको सबैभन्दा ठूलो र पुरानो स्थल गुरुद्वारामा खोप शिविर सञ्चालन भएको थियो। 

यसरी र यस्तै सानो र लक्षित शिविर हुँदै खोपको दायरामा सबैलाई ल्याउनु किङ काउन्टीको रणनीतिमध्ये एक हो। भाषामा बाधा, इन्टरनेटको असुविधा वा यातायात अभाव जस्ता समस्याका कारण एपोन्टमेन्ट बुक गर्न नसकिरहेकाहरूमा त्यस्तो शिविर महत्वपूर्ण उपाय हुन पुगेको छ।  

रेन्टन शिविरका आयोजकहरु स्वास्थ्य समानता प्रवर्धनका लागि एक भए।

“हामी सबै विभिन्न संस्कृति र समूहबाट आएका अति जोखिममा रहेका हाम्रा सदस्यहरूलाई प्रमुखतासाथ ध्यान दिने कोसिसमा छौं,” युनिभर्सिटी अफ वासिङ्टनका फिजिसियन तथा किङ काउन्टीको पन्जाबी हेल्थ बोर्डका संस्थापक सदस्य डा. अंगद सिंले भन्नुभयो।

“जीवन बचाउनका लागि हामी एक भएर समुदायबाट अघि सरेका छौं,” खोप अभियानसम्बध्द युवाहरुको संस्था ‘वर्थ अ सट’ का मेहर ग्रेवालले भन्नुभयो।

विपतको समयमा आरामको ठाउँ

एसियालीविरुध्द हिंसाको पछिल्लो लहरका कारण धेरै दक्षिण एसियालीले नयाँ ठाउँका काममा संकोच मान्नु परेको छ, वेस्टर्न वासिङ्टनको इन्डिया असोसिएसनका जनसम्पर्क कार्यकर्ता टुलिका दुगरले भन्नुभयो।

“मानिसले धेरै कमजोर महसुस गरेका छन्,” दुगरले भन्नुभयो। “हामी उनीहरू बसिआएको समुदायमै सम्बोधनको प्रयास गरिरहेका छौं। उनीहरुका लागि सुरक्षित वासस्थान चाहन्छौं।” 

शिविर आयोजकले हिन्दी, पन्जाबी, बर्मेली, भुटानी, नेपालीसहित १४ भाषाका जानकार स्वयंसेवी रजिस्ट्रार, दोभाषे, खोपकर्मी, मेडिकल पर्यवेक्षक, स्वास्थ्य परामर्शदाताको साथ लिएका थिए।

प्रतिबध्दता जनाए पनि कतिपय मानिसले सुरक्षा चासोका कारण खोप लगाउन हिचकिचाएका थिए।

  • Man with blue mask and orange turban gives a thumbs up sign
  • Woman in blue surgical mask, red sweater and brightly colored scarf
  • A dome atop the gurudwara
  • Two women in masks
  • Woman in mask and blue scarf sitting in chair

“आफू विश्वस्त हुन सक्ने ठाउँ शिख मन्दिरमै खोप लगाइन्छ भन्ने थाहा पाएपछि खोप लिन मानिसहरु थप उत्साहित भए,” यु.डब्ल्यु. फिजिसियन तथा गुरुद्वारासिं सभा समुदाय सदस्य डा.अनिता चोपराले भन्नुभयो।

सोही खोप शिविरमा सुख्विन्दर कौर आफ्नी बुहारी सरजित कौरसँग आएकी थिइन्। यो शिविरबारे अंग्रेजी बोल्ने नातिनीहरुबाट थाहा पाएको कुरा उनीहरुले पन्जाबी भाषामा दोभाषेलाई सुनाए। नातिनीहरुले चाहिँ गुरुद्वाराबाट यसबारे थाहा पाएका थिए।

सरजित दुई ठाउँमा र सुख्विन्दर तीन ठाउँमा काम गर्छिन्। उनीहरु आफ्नो एक मात्र छुट्टीको दिन आइतबार मात्र शिविर आउन सक्थे। 

“अमेजन, फिडेक्स र ज्याक-इन-द-बक्स गरेर म सातामा ६५ घन्टा काम गर्छु,” सुख्विन्दरले भनिन्, “हामी हरेक आइतबार गुरुद्वारा आउँथ्यौं नै, आइतबार नै खोप शिविर चलाइँदा धेरै सजिलो भयो।”

शिविरमा गुरुद्वारा, हेल्थपोइन्ट–रेन्टन र पब्लिक हेल्थ — सियाटल एन्ड किङ काउन्टीको सहप्रायोजन तथा नेपाल सियाटल सोसाइटी, इन्डिया असोसिएसन अफ वेस्टर्न वासिङ्टन, वर्थ अ सट, पन्जाबी हेल्थ बोर्ड, र उत्सव जस्ता संस्थाको संलग्नतामा ४१५ भन्दा बढीलाई खोप दिइएको थियो।

“अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यसेवीका लागि महामारी सुरु भएदेखि नै गुरुद्वारा सदस्यहरुले खाना बनाउने र पुर्याउने गर्दै आएका छन्,” गुरुद्वाराछेवैको गुरमत खाल्सा स्कुलका प्रिन्सिपल इशर सिंले भन्नुभयो।

“रंग, राष्ट्रियता वा धार्मिक विभेद नगरी हामी सबैका लागि हरेक दिन दुईचोटि प्रार्थना गर्छौं,” उहाँले भन्नुभयो, “हामी सबै मानवलाई एकै जातिको मान्छौं। सबै मानव एक हुन्। हामी सबैको कल्याणमा विश्वास गर्छौं।”

अर्को सामुदायिक खोप शिविर मे १६ आइतबारका दिन बोथल गुरुद्वारामा हुनेछ। विस्तृत जानकारीका लागि यो फ्लायर (अंग्रेजीमा मात्र) हेर्नुहोला।

[1]


[1] Nepali_SouthAsia_CommunityVaccinationBlog_COV_329     5/11/2021